छायाँनाथरारा नगरपालिकाको समन्वयमा स्याक नेपाल (समाज जागरण केन्द्र नेपाल) को आयोजनामा बृहत् विद्यालय सुरक्षा तथा जलवायु अनुकूलनसम्बन्धी दुई दिने शिक्षा तालिम गमगढीमा सम्पन्न भएको छ।
उक्त तालिममा छायाँनाथरारा नगरपालिकाका १५ ओटा सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू र प्रधानाध्यापकसहित ३० जनाको उपस्थिति रहेको स्याक नेपालका शिक्षा अधिकृत नरेन्द्र बहादुर रावलले जानकारी दिनुभयो।
तालिमका क्रममा सहभागीहरूले विद्यालय सुरक्षा, जलवायु परिवर्तन अनुकूलन, विपत् प्रतिकार्य योजना, नीतिगत विषयहरू, जलवायु उत्थानशील कार्यक्रम, र विद्यालय व्यवस्थापनका विविध पक्षमा ज्ञान हासिल गरेका छन्। तालिमको सहजिकरण महाकाली नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक खड्गबहादुर रोकाया र छायाँनाथरारा नगरपालिकाका शिक्षा स्रोत व्यक्ति बुद्धिबहादुर शाहीले गर्नुभएको थियो।
तालिमको समापन समारोह छायाँनाथरारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामको सभाध्यक्षतामा सम्पन्न भएको थियो। समापन कार्यक्रममा नगर प्रमुख भामले तालिमले विद्यालय सुरक्षा र जलवायु अनुकूलनका क्षेत्रमा विद्यालयहरूले ठोस कदम चाल्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो।
सहभागीहरूको तर्फबाट महाकाली नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र बहादुर मल्ल र सोही विद्यालयकी शिक्षिका टीका लक्ष्मी हितानले तालिमबाट प्राप्त ज्ञान विद्यालयको हितमा प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।
समापन समारोह र तालिम गमगढीस्थित होटल अनुसाटपमा आयोजना गरिएको थियो।
Leave A Comment