किरा पालेर हिरा बनाउने अभियानमा जुटेका गणेश
बराहताल गाउँपालिका वडा नं. ८ का गणेश गौतम उमेरले २१ वर्ष पुगेका छन् । उनी अहिले गड्यौंला खेतीमा रमाइरहेका छन् । गड्यौंला खेतीबाट उनले अहिले मासिक १५ हजार जति कमाइरहेका छन् ।
युवाहरु बेरोजगार भएर कोही खाडितिर त कोही अरब मुलुकतिर लागिरहेका बेला गणेश भने घरमै बसेर बुवा आमासँगै गड्यौंला खेती गर्दै आफ्नो पढाइ र उद्यमलाई निरन्तरता दिइरहेका छन् ।
समाज जागरण केन्द्र (स्याक) नेपालको सहयोगमा उद्यमी बनेका गणेश अहिले गड्यौलासँग मात्र हाेइन मौरीपालन, बाख्रापालन र तरकारी खेती पनि रमाइरहेका छन् । मौरी पालन व्यवसाय मात्र गर्ने सोच बनाएका गौतमले अहिले एकै समयमा धेरै व्यवसाय शुरु गरेका छन् ।
विषादी रहित मल उत्पादन गरेर गणेशले तरकारी उत्पादन गरिरहेका छन् । उनी भन्छन्, ‘बेरोजगार छु भनेर विदेश जानुभन्दा आफ्नै गाउँघरमा सानोतिनो काम गरेर भए पनि पैसा कमाउन सकिन्छ । घर परिवारसँगै बसेर रमाउन अनि कमाउन पनि सकिन्छ ।’
अहिले गणेशले गड्यौला मल बिक्री गरेर मात्रै मासिक आम्दानी गरिरहेका छन् भने मौरी व्यवसायबाट पनि एक सिजनमा १२ देखि १५ हजारसम्म कमाइरहेका छन् । उनी भन्छन्, ‘पैसा कति कमाइयो भन्दा पनि अर्गानिक चिज खान पाइएको छ । यसैमा म खुशी छु ।’
वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययन गरिरहेका गणेश अध्ययनको क्रममा वीरेन्द्रनगरमा भएको वेला उनका बुवा र आमाले उनको कामलाई सहयोग गरिरहनुभएको छ । उनी अहिले आफ्नाे गाउँमा मात्र नभएर पालिकाभरि नै उदाहरणीय बनिरहेका छन् । उनी भन्छन्, ‘अहिले म किरासँग रमाएर हिरा कमाउने अभियानमा छु । याे अभियानमा सबै युवा वर्गलाई जुट्न पनि आग्रह गर्दछु ।
Leave A Comment