खानेपानी योजनाको अनुगमन तथा मर्मत संभारका लागि सञ्चालित हेलो धारा परियोजनाको उपलब्धी र सिकाई बारे छलफल गरिएको छ । परियोजना कार्यान्वयन अवधिमा प्राप्त गरेका उपलब्धी र सिकाई तथा आगामी रणनीतिबारे विहीबार सुर्खेतमा कार्यशाला सम्पन्न भएको हो । सुर्खेतको लेकवेशी र दैलेखको दुल्लु नगरपालिकामा विगत एक बर्षदेखि हेलो धारा परियोजना सञ्चालित छ । हेल्भेटास नेपालसँगको आर्थिक तथा प्राविधिक सहयोग र सुर्खेतमा समाज जागरण केन्द्र स्याक नेपाल र दैलेखमा सोसेक नेपालको सहजीकरणमा यी दुई नगरपालिकामा हेलो धारा परियोजना सञ्चालनमा छ । विगतमा हरेक बर्ष नयाँ खानेपानी योजना मात्रै माग हुने गरेकोमा हेलो धारा परियोजन सञ्चालित भएपछि योजना मर्मत संभार तर्फ मोडिएको लेकवेशी नगरपालिकामा प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । कही एउटै घरमा दुई तीन धारा पुगेको र कतिपय ठाउँमा खानेपानी नपुगेको अवस्था रहेकोमा अहिले सुचारूपनामा जोड दिएको नगर प्रमुख पौडेलले बताउनुभयो । अब नयाँ योजना निर्माण गर्ने भन्दा पनि वनीसकेका योजनाको मर्मत संभारमा बजेट विनियोजन गरिने उहाँको भनाई छ । हेलो धारा कार्यक्रम सञ्चालन भएपश्चात लेकवेशी नगरपालिका भित्र जीर्ण अवस्थामा रहेका १२ वटा खानेपानी योजनाले पुर्नजिवन पाएको उहाँले जानकारी दिनुभयो । दुल्लु नगरपालिकाका प्रमुख भरत रिजालले विगतमा एकै ठमउँमा दुई– तीन वटा योजना बन्दा पनि नयाँ योजनाकै माग आउने गरेकोमा अहिले उपभोक्ताहरुले मर्मत संभारका लागि रकम माग गर्न थालेको बताउनुभयो । उपभोक्ता समितिले सानातिना मर्मत आफै गर्ने र अलि नसक्ने मर्मतका लागि नरपालिकाले सघाउने गरेको उहाँले बताउनुभयो । नयाँ योजना बनाउनुभन्दा मर्मत खर्च गर्दा धेरै बजेट बचत भएको उहाँले जानकारी दिनुभयो । दुल्लु नगरपालिकाले खानेपानी वोर्ड गठन गरी नगरपालिकाभित्रका खानेपानी योजनको अनुगमन, मर्मत संभारका क्षेत्रमा काम गरिरहेको छ । हेल्भटास नेपालका टिम लिडर मदन राज भट्टले नयाँ योजनाहरु बन्ने तर नियमित मर्मत संभार नहुँदा चाँडै जीर्ण बन्ने समस्यालाई मध्यनजर गरेर हेलो धारा परियोजना विकास गरिएको जानकारी दिनुभयो । हेलो धारा परियोजना खानेपानीको सुद्धता, योजनाको अनुगमन, मर्मत संभार मार्फत दिगोपनामा केन्द्रीत रहेको उहाँले बताउनुभयो ।
समाज जागरण केन्द्र(स्याक) नेपाल द्धारा संचालित कार्यक्रमहरुको बारेमा कुनै सल्लाह सुझाव, गुनासो तथा प्रतिक्रियाहरु भएमा हामीलाई सम्पर्क गर्नुहोस् । टोल फ्रि नं १६६०८३५२००२ info@sacnepal.org.np
Leave A Comment