स्याक नेपालको सामाजिक परीक्षण सल्यानको कालिमाटीमा सम्पन्न
समाज जागरण केन्द्र (स्याक) नेपालको १८औं सामाजिक परीक्षण सल्यान जिल्लाको कालीमाटी गाउँपालिकामा सोमबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा कालीमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्रीले स्याक नेपालले गरेका सम्पूर्ण कार्यक्रमहरुको पारदर्शीता भएका कारण कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । आगामी दिनमा संस्थाले ल्याउने विभिन्न कार्यक्रममा पालिका सधै सँगै रहेको जानकारी दिँदै प्रमुख अतिथि खत्रीले संस्थाले गरेका सम्पूर्ण गतिविधिहरु पारदर्शी भएकाले संस्थाप्रति कुनै गुनासो नरहेको जानकारी दिनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष सनसिल्ता वली डिसीले संस्थाले सामाजिक परीक्षणलाई डिजिटल माध्यमबाट प्रस्तुत गरेका कारण यसको प्रभावकारिता थप भएको बताउनुभयो । कालिमाटी गाउँपालिका भौगोलिक बनावटका कारण कठिन भएकाले लिफ्टबाट भए पनि पानीको सुविधाका लागि पहल गरिदिन आग्रह गर्दै उपाध्यक्ष वलीले यस पालिकाका समुदाय सचेत बन्दै खानेपानी आयोजनाहरु सञ्चालनमा आएको बताउनुभयो ।
कालिमाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्कबहादुर वलीले सामाजिक परीक्षणले संस्थाको समुदायप्रतिको उत्तरदायित्व थप पूरा भएको बताउनुभयो । यो संस्थाले गरेका काम समुदायमा उदाहरणीय भएको बताउँदै आफूले पनि संस्थाले शुरु गरिदिएको पिउने पानी उपभोग गर्न पाएको बताउनुभयो ।
सामाजिक परीक्षण प्रस्तुत गर्दै मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक त्रिभुवन बिसीले स्याक नेपालले विभिन्न १९ वटा शीर्षकमा समुदायमा काम गर्नका लागि सन् २०२४ मा २४ करोड ११ लाख ९० हजार ७ सय २५ रुपैयाँ ६४ पैसा दातृ निकायबाट सहयोग प्राप्त गरेको विवरण सुनाउनुभयो । साथै उहाँले उक्त रकम मध्ये सन् २०२४ मा २१ करोड ९२ लाख ८२ हजार ४ सय १८ रुपैयाँ ७६ पैसा समुदायका विभिन्न कार्यक्रममा खर्च भएको र बचत भएको २ करोड १९ लाख ८ हजार ३ सय ६ रुपैयाँ ८८ पैसा अहिलेको आर्थिक वर्षमा खर्च हुने स्याक नेपालले सामाजिक परीक्षकलाई जानकारी दिएको बताउनुभयो ।
संस्थाको कार्यक्रम र सामाजिक परीक्षणको उद्देश्यमाथि संस्थाका कार्यकारी निर्देशक टीकाराम आचार्यले प्रकास पार्दै कर्णाली प्रदेशका सबै जिल्लाहरुमा स्याक नेपालले कार्यक्रम गरिरहेको जानकारी दिनुभयो । सोही अवसरमा निर्देशक आचार्यले समाज रुपान्तरणका लागि संस्थाले विभिन्न क्षेत्रमा आधारित भएर काम गरिरहेको बताउनुभयो । सहभागीबाट उठेका विभिन्न जिज्ञासाहरुलाई निर्देशक आचार्यले सम्वोधन गर्नुभएको थियो ।
समाज जागरण केन्द्र (स्याक) नेपालका अध्यक्ष मिना तिवारी शर्माको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन कार्यक्रम व्यबस्थाक रेशम चन्दले गर्नुभएको थियो । अध्यक्ष शर्माले सहभागीहरुलाई धन्यवाद दिँदै समुदायको माग र चाहनाका आधारमा कार्यक्रम तय गरी सोही अनुसार दातृ निकायसँगको सहयोग, समन्वय र सहकार्यमा स्याक नेपालले काम गरिरहेको जानकारी दिनुभयो ।
Leave A Comment