मुगुको छायानाथ रारा नगरपालिकामा शिक्षामा सुधार ल्याउन १० वर्षीय शिक्षा योजना बनाउन थालेको छ । गुणस्तरीय शिक्षा, शैक्षिक क्षेत्रको विकासका लागि छायानाथ रारा नगरपालिकाले शिक्षा योजना निमार्ण गर्न थालेको हो ।
नगरपालिकामा सामुदायिक विद्यालय, प्रारम्भिक बालविकास केन्द्र विद्यालयमा आधारित, समुदायमा आधारित गरी ४६ वटा र ४ वटा संस्थागत विद्यालय छन् । यस नगरपालिकामा शैक्षिक क्षेत्र खस्कँदै गएको अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले शिक्षामा सुधार ल्याउन शिक्षा योजना बनाउन सुरु गरेको जनाएको छ ।
यस नगरपालिकाले आगामी १० वर्षभित्र सबै नागरिकलाई शिक्षामा पहुँचको अवसर प्रदान गरी, समतामूलक समावेशिताका आधारमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य सहित सिकाइ मैत्री वातावरण निर्माण गरी व्यावसायिक, सीपमूलक र प्रविधिमूलक शिक्षामा जोड दिने र आधारभूत तहको शिक्षालाई, निःशुल्क, अनिवार्य, बालमैत्री, समावेशी तथा शिक्षामा पहुँच सुनिश्चित गर्ने योजनाका साथ पालिकाले शिक्षा योजना निमार्ण गर्न थालिएको नगर प्रमुख विष्णु कुमार भामले जानकारी दिए ।
शिक्षा योजना निमार्णका लागि नगरपालिका भित्रका विज्ञ सरोकारवालाहरू, शिक्षकहरूको सहभागितामा सुझाव संकलनका साथ शिक्षा योजना निर्माण गर्ने योजनाका साथ ३ दिन शिक्षा क्षेत्रका विभिन्न सवालमा छलफल थालिएको छ ।
प्रराम्भिक बालबिकास, आधारभूत शिक्षा, माध्यमिक शिक्षालगायत अन्य शिक्षा क्षेत्रको विकासका लागि शिक्षा योजना अनिवार्य भएकाले पालिकाले शिक्षा योजना निर्माण थालेको नगरप्रमुख भामको भनाइ छ ।
मंगलबारबाट शिक्षा योजनाका बारेमा शिक्षा क्षेत्रका विज्ञ सरोकारवाला निकायसँग छलफल थालिएको र उनीहरूको राय सुझावका आधारमा लेखन समिति गठन पनि गरिएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुखको संयोजकत्वमा ९ सदस्यीय लेखन समिति गठन गरिएको र लेखन समितिले आगामी ३ हप्ताभित्र सरोकारवाला निकायको राय सुझावका आधारमा पालिकाको शिक्षा योजना निमार्ण गर्ने जनाइएको छ ।
पालिकाको शिक्षा योजना निर्माणपछि एक औपचारिक कार्यक्रमका बीच बाँकी विविध विषयमा छलफल गरी पूर्णता दिने र त्यसपछि शिक्षा योजना कार्यपालिकाबाट अनुमोदन गरी नगरपालिकामा लागू गरिने नगर प्रमुख भामले बताए ।
नगरपालिकाको शिक्षा क्षेत्र योजना निर्माणका लागि युनिसेफ नेपालको आर्थिक सहयोगमा समाज जागरण केन्द्र (स्याक नेपालको) प्राविधिक सहयोगमा शिक्षा योजना निर्माण हुन थालिएको नगरपालिकाले जनाएको छ ।
शिक्षा योजना निमार्णका लागि युनिसेफ नेपालका शिक्षा अधिकृत फर्सुराम पन्थ र समाज जागरण केन्द्र स्याक नेपालका एसइएसपी संयोजक हरिभक्त तिवारीले छायानाथ पालिकाको शिक्षा योजना निमार्णमा सहजीकरण गरेका थिए ।
Leave A Comment