सुर्खेतको लेकवेशी नगरपालिकामा खानेपानी योजनाको सुचारुपना सम्बन्धी दुई दिने सम्मेलन आज देखि सुरु भएको छ । ‘दिगोपनाका लागि जवाफदेहिता, सुचारुपनाका लागि साझेदारी’ भन्ने नाराका साथ खानेपानी तथा सरसफाइ योजनाका सरोकारवालाहरूको जवाफदेहिता अभिवृद्धिका लागि सुचारुपना समम्मेलन सुरु भएको हो । नगरपालिकाले आयोजना गरेको सम्मेलनमा हेल्भटास नेपालको प्राविधिक सहयोग एवं समाज जागरण केन्द्र स्याक नेपालको सहजीकरण रहेको छ । सम्मेलनमा लेकवेशी नगरपालिकाभित्रका १० वटै वडामा सञ्चालित ४२ योजनाका प्रतिनिधि, नगर प्रमुख, उप–प्रमुख, वडाध्यक्षहरूसहित सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको छ । सम्मेलनको पहिलो दिन आज खानेपानी योजनाको वर्तमान अवस्था विश्लेषण गरी आगामी कार्ययोजना तयार गरिएको छ । सम्मेलनलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख उमेश कुमार पौडेलले आगामी दुई बर्षभित्रमा लेकवेशी नगरपालिकाका सबै घरधुरीमा एक घर एक धारा पु¥याउने लक्ष्य प्रस्तुत गर्नुभयो । खानेपानी आयोजना बन्ने तर दिगो रुपमा सञ्चालन नहुने समस्या निराकरण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको नगर प्रमुख पौडेलले बताउनुभयो । बनेका योजनाको सुचारुपना गर्दै आवश्यक ठाउँमा नयाँ योजना निर्माण गरेर आगामी दुई बर्षभित्र सबै नगरवासीको घरमा खानेपानी पहुँच पु¥याउने गरी नगरपालिकाले काम थालेको छ । नगरपालिकाले खानेपानी योजनाको दिगो व्यवस्थापनका लागि मर्मतसंभार कोष तथा कार्यविधि निर्माण गर्ने, वास वोर्ड स्थापना गरी एक द्वार प्रणाली लागू गर्ने, र पालिका तहमा खानेपानी तथा सरसफाइ सम्बन्धी कार्यालय स्थापना गर्ने योजना अघि सारेको छ । साथै, नगरपालिकामा खानेपानी तथा सरसफाई सम्बन्धी हेर्नेगरी वास एकाई बनाई गुनासो सुनुवाइ गर्ने जिम्मेवार अधिकारी तोक्ने, समस्या पहिचान गरी जोखिम न्यूनिकरण तथा समाधान गर्न सक्ने संयन्त्र तयार गर्ने नगर प्रमुख पौडेलले बताउनुभयो । सामान्य प्रकृतिका समस्या तीन दिनभित्र समाधान गर्ने गरी वास एम्बुलेन्स सञ्चालन गर्ने तयारी रहेको नगर प्रमुख पौडेलले बताउनुभयो । यस्तै पानी परीक्षणका लागि ल्याब स्थापना गरी सम्पूर्ण पेरामिटरहरू परीक्षण गर्ने, मिटरसहित ‘एक घर एक धारा’ नीतिअनुसार सबै धरधुरीमा पानी पु¥याउने, दर्ता नभई स्वतःस्फूर्त रूपमा सञ्चालनमा रहेका खानेपानी योजनाहरूलाई दर्ता गरी व्यवस्थित गर्ने, साथै खानेपानीसँगै पूर्ण सरसफाइ युक्त वडा घोषणा गरी पूर्ण सरसफाइ युक्त नगरपालिका बनाउने उद्देश्य रहेको समेत नगर प्रमुख पौडेलले बताउनु भयो ।
दोहोरो आयोजना भएका योजनाहरूलाई एकीकृत गरी सञ्चालनमा ल्याउने र बाँकी योजनाहरूको सम्पन्नताका लागि संघीय सरकार, प्रदेश सरकार तथा साझेदार संस्थासँग समन्वय गर्ने, साथै मर्मतसंभार कार्यकर्तालाई तालीम दिने योजना रहेको पनि जानकारी दिनुभयो । भोलीसम्म सञ्चालन हुने सुचारुपना सम्मेलनमा खानेपानी सरसफाई क्षेत्रका सरोकारवालाहरुसँगको छलफलसँगै घोषणा पत्र जारी गर्दै समापन हुनेछ ।
Leave A Comment