मुगुको छायाँनाथ रारा नगरपालिकाभित्र अध्यापन गराउँदै आएका शिक्षकहरुलाई समावेशी शिक्षा तथा वैयक्तिक शैक्षिक योजना निर्माणसम्बन्धी तालीम प्रदान गरिएको छ । चार दिने तालिममा २९ जना शिक्षकहरुलाई समावेशी शिक्षा तथा वैयक्तिक शैक्षिक योजना निर्माणसम्बन्धी तालीम प्रदान गरिएको हो ।
युनिसेफ नेपालको आर्थिक सहयोग, समाज जागरण केन्द्र (स्याक) नेपालको प्राविधिक सहयोगमा छायाँनाथ रारा नगरपालिका शिक्षा शाखाले असोज १ गतेदेखि ४ गतेसम्म तालीम सञ्चालन गरेको हो । तालीममा नगरपलिका भित्रका १५ सामुदायिक विद्यालयका कक्षा १ देखि ३ सम्म अध्यापन गर्ने २९ जना शिक्षकको सहभागिता थियो ।
तालीममा समावेशी शिक्षा, कार्यगत सीमितता, सर्वानुकूलित सिकाइ ढाँचा, कार्यात्मक मूल्यांकन, व्यवहार व्यवस्थापन तथा वैयक्तिक शैक्षिक योजना निर्माणबारे व्यवहारिक अभ्यास गराइएको थियो ।

मानव संसाधन विकास केन्द्र सुर्खेतका प्रशिक्षक तिलक बहादुर खत्रीका अनुसार सिकाइमा कठिनाइ भएका ५ देखि १७ वर्षका बालबालिकाका लागि तयार गरिने वैयक्तिक योजना विद्यालय तथा घरमै सिकाइमा सहयोग पुर्याउनेछ । यसले संविधानले प्रत्याभूत गरेको मौलिक हक–शिक्षा सुनिश्चित गर्नेमा सहयोग पुग्ने प्रशिक्षक खत्रीले बताए ।
शिक्षकहरुलाई समावेशी शिक्षा, कार्यगत सीमितता, सर्वानुकूलित सिकाइ ढाँचा, कार्यात्मक मूल्यांकन, व्यवहार व्यवस्थापन तथा वैयक्तिक शैक्षिक योजना निर्माणबारे व्यवहारिक अभ्यास गराइएको थियो । यसले संविधानले प्रत्याभूत गरेको मौलिक हक–शिक्षा सुनिश्चित गर्नेमा टेवा पुग्ने बताइएको छ ।
समापन कार्यक्रममा बोल्दै सहभागी शिक्षकहरुले तालीम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका छन् । शिक्षक बिष्णु माया शाहीले यस तालिमले फरक पृष्ठभूमिबाट आएका बालबालिकालाई बुझेर पढाउने नयाँ तरिका सिकाएकाले अब यसलाई विद्यालयमा व्यवहारमा उतार्नु हाम्रो दायित्व भएको बताइन् ।

त्यसैगरी, शिक्षक जीवन परियारले पहिले अप्ठ्यारो ठानिएका विद्यार्थीलाई समावेश गर्ने तरिका नबुझ्दा समस्या भएको र तालीमपछि सबै बालबालिकालाई समान अवसरसहित सिकाइमा सहभागी गराउन सजिलो हुने विश्वास व्यक्त गरे ।
समाज जागरण केन्द्र (स्याक) नेपालका शिक्षा अधिकृत नरेन्द्र रावलले शिक्षकले फरक पृष्ठभूमिबाट आएका बालबालिकालाई बुझेर शिक्षा दिनु जिम्मेवारी रहेको उल्लेख गरे । कार्यक्रममा बोल्दै नगर उपप्रमुख ऐश्वरे मल्लले समावेशी शिक्षा अहिलेको आवश्यकता भएको र यसले सबै बालबालिकालाई आत्मसम्मानसहित सिक्ने वातावरण दिने धारणा राखिन् ।
नगरप्रमुख विष्णु कुमार भामले शिक्षा प्रणालीलाई समावेशी बनाउन यस्ता तालिम अपरिहार्य भएको बताउँदै छायाँनाथ रारा नगरपालिकाले गुणस्तरीय र पहुँचयुक्त शिक्षालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए ।

Leave A Comment